भर्ना छनोट प्रक्रियामा विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो

चैत्र १४, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई आग्रह गर्नुभएको छ । नयाँ शैक्षिक सत्रका लागि ति विद्यालयले भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा भर्ना नलिन आग्रह गर्नुभयो । विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन मन्त्रीले आग्रह गर्नुभयो ।

छलफलमा तीन वटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए । मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गर्नुभयो । पहुँचको आधारमा दबाब र प्रभावमा नपरी गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिन पनि मन्त्री श्रेष्ठको आग्रह थियो । 

छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघि देखि नै गोलाप्रथाबाट भर्ना लिने गरिएको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तरक्रियाका आधारमा भर्ना लिइएको र बुढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए । मन्त्री श्रेष्ठले गोला प्रथाबाट भर्ना लिने प्रक्रियालाई निरन्तरता दिएर थप विश्वसनीय बनाउन आग्रह गर्नुभयो । 


प्रतिक्रिया