निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागि नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

कार्तिक १, २०८१ | काठमाडौं

निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । 

आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । 

ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

 गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । 

आयोगले सो व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । 


प्रतिक्रिया