मंसिरमा हुने उपनिर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन निर्वाचन आयोगको निर्देशन

कार्तिक १, २०८१ | काठमाडौं

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयो । कानूनमा प्रष्ट व्यवस्था नभएपनि कानूनको भावनाबमोजिम उपनिर्वाचन हुने स्थानीय तहमा बहाल रहेको पदमा पुरुष भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन दिएको उहाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचन ऐनले राजनीतिक दलले स्थानीय तहका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिँदा दुई मध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर दुईमध्ये एक मात्रै पदमा उम्मेदवारी दिँदा त्यस्तो व्यवस्था अनिवार्य छैन ।


प्रतिक्रिया