तिलोत्तमामा बालमैत्री शासन दिगोपनाका लागि पञ्च वर्षीय योजना तयार

जेष्ठ २१, २०८१ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपापालिकामा बालमैत्री शासन दिगोपनाका लागि पञ्च वर्षीय आवधिक लगानी योजना निर्माण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । 

२०७८ मा ५१ सूचक पूरा गरी नेपालकै पहिलो बालमैत्री नगर घोषणा गरेको पालिकाको रणनीतिक योजना तर्जुमा समितिले बाल बचाउ, संरक्षण, विकास, सहभागिता र संस्थागत सम्बन्धमा पाँच वर्षे (२०८१/८२ देखि २०८५/८६) रणनीति योजना तयार गरी नगरपालिकामा बुझाएको हो । 

सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता अनुसार नगरपालिकाले बालअधिकार सुनिश्चित गर्दै भविष्यमा समाज र राष्ट्रका लागि सक्षम नागरिक निर्माण गर्ने उद्देश्य स्वरुप बालमैत्री कार्यक्रमका लागि दीर्घकालिन योजना बनाइएको बालमैत्री नगरसमितिका संयोजक समेत रहेका नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । 

बालअधिकारका चार क्षेत्र बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई संस्थागत गर्नको लागि रणनीतिक योजना तयार गरिएको नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो । 

५ वर्षे रणनीति योजना बालमैत्री स्थानीय शासन समिति मार्फत नगरकार्यपालिकामा पेश भई छलफल, परिमार्जन सहित आगामी नगरसभामा पेश गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । 

उहाँले दिगोपना र थप गुणस्तरीय बालमैत्री वातावरण निर्माणको लागि आफूहरु निरन्तर प्रयासरत रहेको बताउनुभयो । 

बालमैत्री नगर समितिका पदाधिकारी, कार्यपालिका सदस्य, पालिकास्तरका बाल सञ्जालका पदाधिकारी, पालिकास्तरका बाल संरक्षण तथा समन्वय समितिका पदाधिकारी, बालमैत्री सहयोग समिति र कर्मचारीको सहभागितामा सञ्चालन भएको गोष्ठीमा छलफल गरी रणनीतिक योजना तयार भएको बालमैत्री शाखाका प्रमुख अधिकृत शारदा भट्टराईले बताउनुभयो । 


प्रतिक्रिया