मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी
जेष्ठ २२, २०८१
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुभन्दा एक दिनअघि एकीकृत समाजवादी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । जसपा नेतृत्वको सरकारबाट एकीकृत समाजवादीका दुईजना मन्त्री बाहिरिएका हुन् ।
काठमाण्डौं आएका एकीकृत समाजवादीका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेंची लुङेली जनकपुर फर्किएर मुख्यमन्त्री निवासमा पुगेर राजीनामा बुझाएका हुन् । मन्त्री लुङेलीले राजिनामा बुझाएर सरकारलाई दिएको समथृन समेत फिर्ता लिएको बताउनुभयो ।
एमाले–माओवादी मधेश सरकारबाट बाहिरिएपनि एकीकृत समाजवादी भने सरकारमै थियो । तर, एकीकृत समाजवादीले यादवको साथ छोडेपछि विश्वासको मत पाउने सम्भावना भने न्यून छ । मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।