“गन्तव्य गण्डकी” कार्यक्रममा विभिन्न चार सत्रमा बहस
माघ ९, २०८१
कान्तिपुर मिडिया ग्रुपको आयोजनामा पोखरामा आयोजित “गन्तव्य गण्डकी” कार्यक्रममा विभिन्न चार सत्रमा बहस भएको छ । सम्वन्धित क्षेत्रका विज्ञसहित पहिलो सत्रमा राजनीति र पर्यटन नीति, दोस्रो सत्रमा साहसिक यात्रा, स्वप्निल गन्तव्य, तेस्रो सत्रमा मूल सरोकार शिक्षा, स्वास्थ्य र रोजगार तथा चौथो सत्रमा संघीयता भार कि अधिकार भन्ने शीर्षकमा अन्तक्र्रिया भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्दा गण्डकीले थुप्रै चुनौती व्यहोरिरहेको बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न संघ र प्रदेश सरकारबीच समन्वय र सहकार्य जरुरी भएको उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले चाहेर मात्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गण्डकी प्रदेश अझै प्रभावशाली बन्ने बलियो सम्भावना रहेको बताउनु भएको छ । अध्यक्ष सिरोहियाले गण्डकी प्रदेशलाई समृद्ध बनाउन थप काम गर्नुपर्ने बताउनुभयो ।