सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान गर्न नदिने निर्णयप्रति उड्डयनमन्त्री पाण्डेको आपत्ति

माघ ९, २०८१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान गर्न नदिने निर्णयप्रति आपत्ति जनाउनुभएको छ । राष्ट्रिय निकुञ्ज, र स्थानीय तहले सगरमाथा क्षेत्रमा हेलिकप्टर उड्न नदिने निर्णय गरेपछि विवाद चर्किएका बेला मन्त्री पाण्डेले सो कार्य संविधान र कानून विपरित भएको टिप्पणी समेत गर्नुभएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नीतिगत हिसावमा समेत हेलिकप्टर उडान रोक्न नमिल्ने बताउनुभयो ।

पाण्डेले चलायमान पर्यटकीय पर्वतारोहणको सम्भावनालाई कमजोर बनाउने काम गर्न नहुने बताउनुभयो । समस्या समाधानका लागि पहल भइरहेको उहाँको भनाइ थियो ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जले निर्णय गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाएपछि विवाद सृजना भएको हो । त्यसपछि निजी वायुसेना कम्पनीले समेत हेलिकप्टर उडानमा लगाइएको रोकप्रति आपत्ति जनाएका छन् । सोलुखुम्बु प्रशासनले भने हेलिकप्टर उडानमा अवरोध गर्नेलाई कारवाही गर्ने चेतावनी दिइसकेको छ । 


प्रतिक्रिया