तिलोत्तमामा आइतबार उद्यम, ज्ञान तथा रोजगार सूचना मेला हुने

जेष्ठ २६, २०८१ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमामा एकदिने उद्यम ज्ञान तथा रोजगार सूचना मेला आयोजना हुने भएको छ । आइतबार आयोजना हुने मेलामा ६ हजार नागरिकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

गत वर्ष सञ्चालन भएको वृत्ति मार्ग निर्देशन तथा रोजगार सूचना मेलाको परिस्कृत स्वरुपमा यस वर्षको मेला गर्न आयोजना लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलाका संयोजक एवं वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकले ५ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । 

‘गत वर्ष हामी कहाँ ३ हजार ५ सय जनाले अवलोकन गर्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘हामीले प्रत्यक्ष मेलाकै दिन ७ जनालाई रोजगार दिलाएका थियौं, यसपटक ३० जना बढीलाई रोजगार प्रदान गर्ने लक्ष्य राखिएको छ ।’ 

नगरवासीका लागि सुवर्ण अवसरकै रुपमा गत वर्ष इन्सियोर परियोजनाले लगानी गरिदिएको मेलालाई निरन्तरता दिन पालिकाले यसपटक आफ्नै लगानीमा गर्न लागिएको वडा अध्यक्ष पाठकले जानकारी दिनुभयो । 

तिलोत्तमा नगरभित्र रहेका युवा, विद्यार्थी, उद्यमसँग जोडिएका सबैलाई एकै ठाउँमा जम्मा पारेर उद्यममा उत्प्रेरित गर्ने, नगरभित्रका लघु, कृषि तथा साना उद्यमीको सम्मान गर्ने र उनीहरुले उत्पादन गरेका वस्तुको प्रदर्शन मेलाको प्राथमिकतामा रहने मेला संयोजन समितिका सदस्य रवि सेन्चुरीले बताउनुभयो । 

साथै निजी क्षेत्रसँग सहकार्य गरेर योग्यता, सीप दक्षता भएका व्यक्तिलाई केही मात्रामा भएपनि रोजगार दिलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ ।

गत वर्ष बटुलेका अनुभवका आधारमा यस वर्ष बेरोजगार र अर्धरोजगार नगरवासीलाई उचित परामर्श दिने र आवश्यकता अनुसार एड्भान्स तालिम प्रदान गर्न सहकार्य गरी युवालाई देशमै गर्न सकिन्छ भन्ने भाव जगाउन समेत मेलाले सघाउने उहाँले बताउनुभयो । 


प्रतिक्रिया