मोरङको सुन्दरहरैँचामा जंगली हात्ती मृत फेला

जेष्ठ ३०, २०८१ | सुनसरी

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा जंगली हात्ती मृत फेला परेको छ । सुन्दरहरैँचा–६ स्थित भक्तराज लिम्बूको केरा बगानभित्र जंगली हात्तीको छावा मृत फेला परेको हो । 

अन्दाजी ६–७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीयले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए । 

सव–डिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको लाटीझोडा सव–डिभिजन वन कार्यालयका प्रमुख अमृतविलाश पन्तले जानकारी दिनुभयो । 

माउ बेगर हात्तीको बच्चा कसरी केरा बगानभित्र पुग्यो र मृत भेटियो भन्ने खुल्न नसकेको पन्तले बताउनुभयो । हात्तीको सुँडको छेउमा सामान्य चोट देखिएको र शरीरका अन्य भागमा कुनै पनि चोटपटक नदेखिएको पन्तले जानकारी दिनुभयो । 

सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षको टोली पनि घटनास्थलमा रहेको र हात्तीको मृत्युको कारण अनुसन्धानपछि मात्रै पत्ता लाग्ने उहाँको भनाइ छ । 

गत पुस दोस्रो साता पनि मोरङको सुन्दरहरैँचा–१० स्थित जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको थियो । १०–१२ वर्ष उमेरको भाले हात्तीको देब्रे खुट्टामाथि र घाँटीमा गोली लागेको अवस्थामा भेटिएको थियो । 


प्रतिक्रिया