गोली प्रहार गरी लुटपाट गर्ने दुई जना पक्राउ

असार २०, २०८१ | काठमाडौं

महोत्तरीको गौशालामा गोली प्रहार गरी सुनको सिक्री लुटने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गौशाला–११ का ३८ वर्षीय विनयकुमार सिंहलाई गत जेठ २८ गते गोली प्रहार गरेर सिक्री लुट्ने दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको हो ।

सिंहलाई गोली प्रहार गरेको आरोपमा धनुषा सबैला–९ का ४७ वर्षीय शशीशंकर कापर र महोत्तरी भंगहा–२ का ३० वर्षीय आशिषकुमार कन्ठलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले बताउनुभयो । 

पक्राउ परेका कापर १० वर्ष र कन्ठ ३० महिना सजाय भोगेका अपराधी रहेको र उनीहरुबीच जेलमा बस्दा चिनजान भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजना, चोरी डाका, ज्यान मार्ने उद्योग र संगठित अपराध गरी चार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताउनुभयो । 


प्रतिक्रिया