संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने काँग्रेसको दाबी

असार २२, २०८१ | काठमाडौं

नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन प्रक्रिया पूरा गरेपनि नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने बताएको छ ।

संसद् भवनमा आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले अब संविधानको धारा ७६ (२) बमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन हुने जिकिर गर्नुभयो ।

बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको समेत उहाँले जानकारी दिनुभयो । बैठकले संविधानको अभ्यासको सन्दर्भमा देखापरेका सबल र कमजोर पक्ष तथा यसका जटिलताहरुको समीक्षा गरेर संविधानमा संसोधन गर्ने निर्णय गरेको छ ।

नयाँ सहमति अनुसार पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयनमा सो पार्टीले दृढता व्यक्त गरेको छ ।    


प्रतिक्रिया