महोत्तरीका धार्मिक र पुरातात्विक सम्पदाको संरक्षणमा व्यवासायीको चासो

श्रावण ७, २०८१ | महोत्तरी
महोत्तरीको धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा होटल तथा पर्यटन व्यवासायीले चासो देखाएका छन् ।
सोमबार जिल्लाको टुटेश्वर धाम,पन्चधुरा मन्दिर,मध्य पाषण युगको हतियार कारखाना,रौजा मजार,पडोर थान, लोपउन्मुख गिद्धको बसोवास रहेको राइमण्डल लगायतका धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गराउँदै पर्यटनमा लगानी बढाउन सरोकारवाला समक्ष व्यवसायीले माग गरेका छन् ।
प्रशस्त तारे होटल सञ्चालनमा आएसंगै होटलको हब बन्दै गरेको बर्दिवास संगै जिल्लाका अन्य भू–भाग र पर्यटकीय गन्तव्यलाई संरक्षण र विकास गर्न अवलोकन भ्रमण आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले बताउनुभयो ।

महोत्तरीमा मात्रै नभएर होटल तथा पर्यटन व्यवसायीले मधेसका आठै जिल्लामा पर्यटकिय गन्तव्यको पहिचान,संरक्षण र विकास गर्न बारा, सिराहा र महोत्तरीका पर्यटकीय क्षेत्रको अवलोकन गरिसकेको बताउनुभयो । अन्य बाकीँ जिल्लामा पनि यो अभियान निरन्तर अघि बढ्ने गौतमको भनाई छ ।
१९८५ मा जर्मनी नागरिक गुडन कार्विन्सले बर्दिवास ३ स्थित पाटुमा मध्य पाषण युगको हतियार कारखाना रहेको पत्ता लगाएकी थिइन् ।

अहिले घना जङ्गल रहेको सो क्षेत्रमा अझै पनि मध्य पाषण युगमा प्रयोग हुने हतियारका अवशेषहरु रहेको र थप अध्ययन अनुसन्धान र संरक्षण हुन जरुरी रहेको आवाज उठेसँगै सो क्षेत्रको पुरातात्विक महत्वलाई संरक्षण गर्दै पर्यटकिय गन्तव्य बनाउन प्रदेश सरकारका उद्योग पर्यटन मन्त्रीलाई अनुरोध गरिएको व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज बहादुर कार्कीले बताउनुभयो ।
कार्कीका अनुसार साउनमा नेपाल, भारतका विभिन्न ठाउँबाट श्रद्धालुको घुइँईचो लाग्ने नेपालको बाबाधाम भनेर चिनिएको टुटेश्वरको अनुगमन र विकास सयौँ वर्षको ईतिहास बोकेको मुस्लिमहरुको आस्थाको केन्द्र रौजा मजार, सन्तान प्राप्तिकालागि मनोकामना सिद्धि हुने धार्मिक स्थलको रुपमा चिनिएको पडोर थान, हरेक मनोकामना सिद्धि हुने शक्तिपिठका रुपमा परिचित पन्चधुरा मन्दिर र लोपउन्मुख गिद्ध बास र राई जातिको इतिहास रहेको राइमण्डललाई संरक्षण विकासका काममा तत्परता देखाउन व्यवसायीले अनुरोध गरेका छन् ।