सशस्त्र द्धन्द्धलाई सम्बोधन गर्ने शव्दावलीको विषयलाई लिएर दलहरुबीच चर्को विवाद

भाद्र २६, २०८१

सत्तारुढ दल एमाले र प्रतिपक्षी माओवादी केन्द्रबीच सशस्त्र द्धन्द्धलाई सम्वोधन गर्ने शव्दावलीको विषयलाई लिएर चर्को विवाद भएपछि प्रतिनिधिसभाको बैठक चार दिन पछाडी धकेलिएको छ । ती दलका सांसदहरुबीच १० सशस्त्र द्धन्द्धलाई सम्वोधन गर्ने शव्दावलीको बिषयलाई लिएर विवाद हुँदा बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न नसकेपछि सभामुख देवराज घिमिरेले बैठक आगामी आइतवारसम्मका लागि स्थगित गर्नुभएको हो ।

भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको थियो । तर भट्टराईको अभिव्यक्ति असंसदीय नभएको निष्कर्षसहित रेकर्डबाट हटाउन नपर्ने जानकारी सभामुख घिमिरेले गराउनुभयो ।

त्यसपछि माओवादी सांसदले आपत्ति जनाएपछि एमालेका सांसदसँग विवाद शुरु भएको हो । सभामुखले दिएको जानकारीप्रति असन्तुष्टी जनाउँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधान विपरितको कार्य भएको दावी गर्नुभयो ।

प्रमुख सचेतक पाण्डेले बोलेपछि एमालेका सांसदहरुले सभामुखको रुलिङमाथि प्रतिपक्षी दलले प्रश्न उठाएको भन्दै आपत्ति जनाएका थिए ।

दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीबीच सशस्त्र द्धन्द्धलाई सम्वोधन गर्ने शव्दको बिषयमा पछिल्ला दिनमा आएर जुहारी चल्न थालेको हो । यसैबीच, सभामुख घिमिरेले संसदमा बोल्दा सचेत भएर शव्द चयन गर्न आग्रह गर्नुभएको छ ।

१० बर्षे सशस्त्र युद्ध अन्त्यपछि शान्ति प्रक्रिया आरम्भ भएपश्चात् आपसमा मिलेर पटक पटक सत्तामा पुगेका दुई कम्युनिष्ट पार्टीले संसदभित्र जनसरोकारको बिषयलाई ओझेलमा पार्ने गरी विवाद गरेको टिप्पणी भएको छ । 


प्रतिक्रिया