पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

भाद्र २७, २०८१ | काठमाडौं

पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

हिजो बेलुकीको वर्षापछि खसेको पहिरोले कर्णाली राजमार्ग अन्र्तगत कालीकोटको गगनेखोलादेखि हुल्मसम्म करीब १२ किलोमिटर सडक अवरुद्ध भएको हो ।

शुभकालिका–१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्म लगायत ठाउँमा पहिरो खसेको छ ।

गगने खोलामा ढुंगासहितको पहिरो खसेपछि यातायात सेवा रोकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीका अनुसार १२ किलोमिटरसम्म ठाउँ ठाउँमा पहिरो खसेको छ ।

पहिरोले सडक बन्द हुँदा गाडीहरु बाटोमै रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज टोपबहादुर महताराले बताउनुभयो ।

 लगातार वर्षा भईरहेकाले तत्काल सडक खुल्ने सम्भावना नभएको उहाँले बताउनुभयो ।

पहिरोले सडक अवरुद्ध भएकाले कर्णाली राजमार्गमा यात्रा गर्नु अघि सडकको अवस्था बुझेर मात्र हिँड्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि पटक पटक अवरुद्ध हुँुदै आएको छ ।


प्रतिक्रिया