कोशी सरकारमा सहभागि हुँदै काँग्रेस

भाद्र २७, २०८१ | काठमाडौं

सत्तारुढ नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा आज मन्त्री पठाउने तयारी गरेको छ ।

पदाधिकारी बैठकले प्रदेश मन्त्रीको नाम टुंग्याएपछि कोशी सरकारमा मन्त्री पठाउने तयारी भएको नेताहरुले बताएका छन् ।

काँग्रेस र एमालेबीच सत्ता सहकार्यको लामो समय बितिसक्दा समेत कोशीमा मन्त्री नपठाएको भन्दै आलोचना बढेपछि केन्द्रीय पदाधिकारीको बैठकबाट मन्त्रीको टुंगो लागेको हो । 

सरकारमा मन्त्री पठाउने तयारी भएपनि पार्टीले नाम भने सार्वजनिक गरेको छैन । 

कोशी प्रदेश काँग्रेस संसदीय दलका मुख्य सचेतक गोपाल तामाङले एमाले नेतृत्वका सरकारमा मन्त्री पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

स्रोतका अनुसार नेता कृष्णप्रसाद सिटौलाबाट भुपेन्द्र राई र भूमि प्रसाद राजवंशीले आज शपथ ग्रहण गर्ने तयारी छ ।

यस्तै, शेरबहादुर देउवा पक्षबाट प्रदीप सुुनुवार र खगेन सिङ हाङगामको नाम अनुमोदन भए पनि मन्त्रीको नाममा विवाद छ ।

यस्तै, शेखर कोइराला पक्षले भने मन्त्री नपठाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीको टुंगो नलगाउनुको कारणबारे काँग्रेस सभापति देउवासँग चासो राखेपछि देउवाले पदाधिकारीको बैठकमा मन्त्रीको नाम टुंगो लगाएको नेताहरुको भनाइ छ ।

काँग्रेस र एमालेबीचको सहमति अनुसार दुवै पार्टीबाट २÷२ जना राज्यमन्त्रीसहित मन्त्रीमण्डल बिस्तार हुनेछ ।

एमालेबाट मुख्यमन्त्रीसहित चार र काँग्रेसले ४ मन्त्रालय पाउने सहमति भएको हो ।


प्रतिक्रिया