प्राकृति विपदले सार्वजनिक यातायातमा ७३ करोडको क्षति

आश्विन २४, २०८१ | काठमाडौं

असोज दोस्रो साता आएको बाढी पहिरोले सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ ।

असोज १० देखि १२ गतेसम्म देशभर परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले सार्वजनिक यातायातका क्षेत्रमा ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको हो ।

प्राकृतिक विपद्का कारण पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार रुपैयाँ, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख रुपैयाँ, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख रुपैयाँबराबरको क्षति भएको महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

यस्तै, बाग्मती टिपर व्यवसायी संघको २७ करोड रुपैयाँ, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड रुपैयाँ, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको छ करोड ६५ लाख रुपैयाँ र रसुवागढी नाकामा चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेर गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा हिजो बुझाइएको जानकारी दिनुभयो ।


प्रतिक्रिया