वरिष्ठ पप गायक सुनिल उप्रेतीलाई रेडियो कान्तिपुरको सम्मान
कार्तिक ३०, २०८१ | काठमाडौं
रेडियो कान्तिपुरले वरिष्ठ पप गायक सुनील उप्रेतीलाई सलाम ज्यूँदो इतिहासुलाई कार्यक्रम मार्फत् सम्मान गरेको छ । रेडियो परिसरमा शुक्रबार आयोजित कार्यक्रममा रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईले गायक उप्रेतीलाई दोसल्ला र ताम्र–पत्रबाट सम्मान गर्नुभएको हो ।
नेपाली गीत संगीत, चलचित्र र साहित्यमा आफ्नो जीवन अर्पेका स्रष्टाहरुलाई सम्मान गर्न पाउँदा रेडियोले गौरवको महसुस गरेको प्रमुख कार्यकारी अधिकृत पछाईको भनाई छ ।
नेपाली संगीतको श्रीवृद्धिमा रेडियो कान्तिपुर सदैव लाग्ने भन्दै उहाँले यस्ता सम्मानले अग्रज पुस्तालाई मात्र नभएर सगीतका अनुज पुस्तालाई पनि प्रेरित गर्ने बताउनुभयो ।
त्यस्तै गायक सुनील उप्रेतीले रेडियो कान्तिपुरको सुरुवाती दिनमा आफूले स्टेशन आईडी समेत गाएको प्रसंग उल्लेख गर्दै रेडियोसँगको नाता पुरानो रहेको बताउनुभयो। संगीत सिर्जनामा लागि रहन यस्ता सम्मान कार्यक्रमले थप हौसला मिलेको उप्रेतीको भनाइ छ ।
सम्मान कार्यक्रममा गायक उप्रेतीका गीतहरुलाई ख्यातिप्राप्त कलाकारहरुले द लिजेण्ड ब्याण्डको सहयोगमा प्रस्तुत गरेका थिए । सचिन रौनियार, सञ्जयकिशोर श्रेष्ठ, रविन महर्जन, डि।जे एल एक्स पौडेल र सुन्दरकुमार महर्जनले उप्रेतीका आधा दर्जन गीत कार्यक्रममा प्रस्तुत गरे ।
रेडियो कान्तिपुरले सलाम ज्यूँदो इतिहासुलाई कार्यक्रममार्फत् यसअघि ३२ जना स्रष्टाहरुको सम्मान गरिसकेको छ । नयाँ श्रृंखलामा प्रत्येक महिना एक एकजना सर्जकको सम्मान गर्दै जाने प्रमुख कार्यकारी अधिकृत पछाईले जानकारी दिनुभयो । आज बिहान सवा ९ बजेबाट मध्यान्ह १२ बजेसम्म चलेको कार्यक्रम रेडियो कान्तिपुर र कान्तिपुरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।