प्रहरी समायोजन ऐन चाँडै आउँछः गृहमन्त्री लेखक
मंसिर ४, २०८१
गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन ऐन चाँडै आउने बताउनुभएको छ । समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको मन्त्री लेखकको भनाई थियो । कैलालीको धनगढीमा आज आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लेखकले प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिनुभयो ।
२०१२ सालमा बनेको ऐनका आधारमा नेपाल प्रहरी र २०५८ सालमा बनेको ऐनकै आधारमा सशस्त्र प्रहरी संगठन चलिरहेकाले समयसापेक्ष परिमार्जन गर्न आवश्यक रहेको उहाँको भनाई थियो । अर्को प्रसंगमा गृहमन्त्री लेखकले सुदूरपश्चिममा भारतीय सीमा क्षेत्रबाट लागूऔषध ओसापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो ।