सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको हत्या

मंसिर १६, २०८१ | सिरहा

सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरी बलका नायब निरीक्षक (सई)को मृत्यु भएको छ । नेपाल–भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका–१ कचनारीमा आइतबार बिहान मदिरा तस्करहरु सवार गाडीले सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मण प्रसाद यादवलाई ठक्कर दिएको हो । 

गाडीको ठक्करबाट घाइते भएका सई यादवलाई उपचार गराउन लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताउनुभयो । 

गाडीमा मदिरा तस्करी भईरहेको भन्ने सूचनाको आधारमा बडहरी बेस क्याम्पमा कार्यरत यादवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ८ जना सुरक्षाकर्मी गस्तीमा खटिएका थिए । 

सोही गाडी रोक्ने क्रममा आज बिहान ३ बजेतिर यादवलाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ । यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका बासिन्दा हुन् । 

प्रहरी फरकफरक स्थानमा खटिएकाले अन्य प्रहरीले टाढाबाट गाडी देखेपनि गाडीको नम्बर भने पहिचान गर्न नसकेको डीएसपी पासवानले बताउनुभयो । सो गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया