शिक्षकहरुको आन्दोलनको औचित्य छैनः प्रधानमन्त्री ओली

वैशाख ८, २०८२ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षासम्वन्धि ऐन तत्काल ल्याउनुपर्ने लगायत माग राखी झन्डै तीन सातादेखि जारी शिक्षकहरुको आन्दोलनको औचित्य नभएको बताउनुभएको छ ।
देशको आर्थिक अवस्था हेरेर सरकारले शिक्षकको सबै माग पुरा गर्न नसक्ने र विद्यालय शिक्षासम्वन्धि ऐन संसदको प्रक्रिया पुरा गरेर पारित हुने प्रधानमन्त्री ओलीको भनाइ छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षकहरुको आन्दोलनको अर्थ नभएको बताउनुभयो ।
विद्यालय शिक्षासम्वन्धि ऐन पारित भएको जस लिन शिक्षकहरुले अनावश्यक रुपमा आन्दोलन गरेको टिप्पणी प्रधानमन्त्री ओलीले गर्नुभयो । ऐनका लागि सडकमा आउन नपर्ने उहाँको भनाइ छ ।
आफ्ना माग पुरा नभए एसइइ परीक्षाको उत्तरपुस्तिका नजाँच्ने शिक्षकहरुको अडानप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीले सत्तामा रहँदा र प्रतिपक्षमा रहँदा शिक्षकको आन्दोलनप्रति विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ ।
शिक्षकहरुले विभिन्न माग राखी शुरु गरेको आन्दोलन जारी राख्दै आज २० औं दिनपनि विहानैदेखि काठमाडौंको वानेश्वर क्षेत्रमा केही घण्टा प्रदर्शन गरेका थिए ।