वडाध्यक्षले कुटे कर्मचारी, कारवाहीको माग गर्दै कर्मचारी विरोधमा

फाल्गुन ६, २०८१ | तिलोत्तमा
रुपन्देहीको रोहिणी गाउँपालिका–२ का वडा अध्यक्षले कर्मचारीमाथि हातपात गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका छन् । कर्मचारीमाथि हातपात गर्ने वडा अध्यक्ष करम हुसेन खानलाई कारबाही नभएसम्म काम ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् ।
वडाध्यक्षले पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि आक्रमण गरेका थिए । सोमबार पालिकाको बैठक बसिरहेको अवस्थामा गर्दा वडा नम्बर–२ का अध्यक्ष खानले गाली गलौच गर्दै घिमिरेमाथि हातपात गरेपछि कर्मचारीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन् ।
कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वडाध्यक्ष खानले बारम्बार कर्मचारीलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ, उनको यो कार्यले हामी त्रसित भएका छौं ।’

उनीहरुले यस्तो परिस्थितिको अन्त्य नभएसम्म र वडाध्यक्ष खानलाई कारवाही नगरेसम्म आफूहरुले सेवा ठप्प पार्ने समेत जनाएका छन् । साथै कर्मचारीको मान मर्दन गर्ने कार्यले आफूहरुमा भय सृजना भएको भन्दै सेवा बन्दले सेवाग्राहीमा पर्न जाने असरप्रति क्षमा मागेका छन् ।