तिलोत्तमामा विद्यार्थी च्यालेन्ज फन्ड सुरु

फाल्गुन ६, २०८१ | तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यार्थी च्यालेन्ज फन्ड सुरु गरेको छ । नगरले पछिल्लो समयमा शिक्षामा विभिन्न कार्यक्रमलाई अगाडि सारेको सन्दर्भमा विद्यार्थी च्यालेन्ज फन्ड सुरु गरेको हो ।
नगरले सूचना जारी गरी च्यालेन्ज फन्डमा सहभागिताका लागि आह्वान गरेकामा ९ वटा विद्यालय छनोट भएका हुन् । ती विद्यालयले विद्यार्थीबाट नवीनतम विचारलाई प्रयोग गरेर सामान्य भन्दा फरक अभ्यास गरी स्वस्थ प्रतिस्पर्धा मार्फत अघि बढाउने छन् ।
छनोट भएका विद्यालयले १० हजार रुपैयाँ पाउने ब्यवस्था गरिएको कार्यक्रम संयोजक रवि सेन्चुरीले बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका आर्थिक विकास समितिका संयोजक गणेश पाठकले हरेक श्रीजनशिल कार्यक्रममा विद्यालय र विद्यार्थीहरु अब्बल छन् भन्ने बनाउनका लागि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
पाठकले समुदायमा लगानीकर्ता खोज्दै घरघर आइपुग्ने अवस्था आईसकेको भन्दै प्रतिस्पर्धामा जानुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले जुनसुकै विधामा पनि आर्थिक सम्भावना उत्तिकै रहेको उल्लेख गर्दै इमान्दार र लगनशील भएर अगाडि बढ्न विद्यार्थीलाई सुझाव दिनुभयो ।
त्यस्तै, तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले शिक्षामा बजेट थोरै भए पनि कार्यक्रम प्रभावकारी बन्न सकेको दाबी गर्नुभयो । यसअघि नगरपालिकाले गरेको एक विद्यालय एक श्रीजनशील कार्यक्रमको प्रशंसा गर्दै उहाँले यो कार्यक्रम पनि त्यसैगरी सफल बनाउन आफूहरुको प्रयासरत रहेको बताउनुभयो ।