रिंकु बलात्कार प्रकरणः एसएसपीको नेतृत्वमा छानविन समिति

फाल्गुन ६, २०८१

सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षिया रिंकु कुमारी सदाय मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानविन समिति खटाएको छ । जनकपुरस्थित मधेश प्रहरी कार्यालयका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । छानविन समितिले अनुसन्धानसमेत थालिसकेको मधेश प्रदेश प्रहरी कार्यालयलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । गत माघ १० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलकी रिंकु सदाय आफनै घरमा मृत फेला परेकी थिइन् । रातको समयमा शौच गर्न घर बाहिर निस्कदा उनी सामुहिक बलात्कारको शिकार भएकी थिइन् । सो घटनालाई पञ्चायती बसेर ढाकछोप गर्ने प्रयास गरिएको थियो । 

यसैबिच सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा दलित महिला संघले ध्यानाकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको हो । जनप्रतिनिधि लगायतले यस्तो जघन्य अपराध घटनामा पञ्चायती गरेर गाउँमै घटना दबाउन खोजेर र प्रहरीले पीडितलाई दबाब दिएर मुद्दा कमजोर बनाउन खोजेर कानुनी व्यवस्थाकै खिल्ली उडाएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । संघकी अध्यक्ष कला स्वर्णकारद्वारा जारी विज्ञप्ति मार्फत् घटनामा संलग्नहरूलाई अविलम्ब पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई सुरक्षा, उचित राहत तथा क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।


प्रतिक्रिया