पाथीभरा केबलकारः राज्यले व्यापारीको स्वार्थमा काम गरेको राप्रपा अध्यक्ष लिङदेनको आरोप

फाल्गुन ११, २०८१ | काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ताप्लेजुङको पाथीभरामा पछिल्लो समय भइरहेको प्रदर्शन र त्यसमा सरकारको भूमिकालाई लिएर आलोचना गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले पाथीभराको विषयमा सरकार, राजनीतिक दल तथा नागरिक समाज मौन बसेको आरोप समेत लगाउनुभएको छ ।
कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभरा अलग गरेर सरकारले त्यसलाई व्यापारीको हातमा सुम्पिन खोजेको अध्यक्ष लिङ्देनले आरोप लगाउनुभयो । राज्यले व्यापारीको स्वार्थमा काम गरेको उहाँको भनाइ थियो ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले पाथिभरामा भइरहेको विरोध प्रदर्शन हिंसात्मक भएको भन्दै आपत्ति जनाउनुभएको छ । संसदमा बोल्दै भट्टराईले केबलकार बनाउन नीजि क्षेत्रलाई दिएको अनुमति नियम संगत भएको बताउनुभयो ।
यसैबीच, माओवादी केन्द्र कोशी प्रदेश समितिले पाथीभरा क्षेत्रमा भइरहेको केबलकार विवाद समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्न माग गरेको छ । कोशी प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति जारी गर्दै सरकारले वार्ता र संवादबाट राजनीतिक समाधान खोज्नुको साटो बल प्रयोग गरी आन्दोलनकारीलाई दबाउने प्रयास गरेको भन्दै विरोध गरेको हाम्रा सहकर्मी जनाएका छन् ।