ओडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोनः नेपालीलाई सुरक्षित रुपमा पढ्ने व्यवस्था मिलाउन आग्रह

फाल्गुन १०, २०८१ | काठमाडौं

परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतको ओडिसा राज्यका मुख्यमन्त्री मोहन चरण माझीबीच टेलीफोन संवाद भएको छ । ओडिसास्थित कलिङ्गा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपश्चात विकसित घटनाक्रमबारे टेलिफोन संवाद भएको हो ।

संवादका क्रममा मन्त्री राणाले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्था मिलाउन समेत आग्रह गरिएको उहाँको सचिवालयले जनाएको छ ।

नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई स्थायी रुपमा नै हटाउन व्यवस्था मिलाउन राज्य सरकारलाई भनिएको उहाँले जानकारी दिनुभयो । विकसित घटनाबारे अनुसन्धानका लागि नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिएकाले समन्वयको वातावरण मिलाउन मन्त्री राणाले ओडिसाका मुख्यमन्त्री माझीसँग आग्रह समेत गर्नुभएको छ ।

संवादका क्रममा जवाफ दिँदै मुख्यमन्त्री माझीले प्रकृति लम्सालको मृत्यु भएको सम्बन्धी घटनालाई ओडीसा राज्यले नै गम्भीर रुपमा लिएको तथा दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको प्रतिक्रिया दिनुभएको बताइएको छ । 


प्रतिक्रिया