भारतबाट ३ सय १ विद्यार्थी नेपाल आइपुगे

फाल्गुन ११, २०८१
भारतको ओडिसास्थित कलिंगा विश्वविद्यालयबाट नेपाली विद्यार्थी फर्किने क्रम जारी छ । अहिलेसम्म विभिन्न नाकाबाट ३ सय बढी विद्यार्थी घर फर्किएका छन् ।
झापाको काँकडभिट्टा नाकाबाट २०, भैरहवाको बेलहियाबाट ३६, विराटनगरको जोगबनीबाट ८३ र वीरगञ्ज नाकाबाट १ सय ६२ गरी ३ सय १ विद्यार्थी आइपुगेको नाकास्थित सुरक्षा पोस्टले जनाएको छ । विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न असहज परिस्थितिका कारण विद्यार्थी घर फर्किएका हुन् ।
घर फर्किएका विद्यार्थीहरुले नेपाली छात्रा लम्सालले न्याय पाउनु पर्ने माग गरेका छन् । घटनापछि विश्वविद्यालय प्रशासनले करीब ८ सय जना नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेर बसपार्क र रेल्वे स्टेशनमा अलपत्र छाडेको थियो ।