माओवादीको जागरण अभियान सुरु

फाल्गुन १२, २०८१
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेश र तराईका जिल्लामा तीन साता लामो जागरण अभियान सुरु गरेको छ । माओवादीले आफ्नो संगठन कमजोर भएका मधेश र तराईका जिल्लामा जागरण अभियान सुरु गरेको हो । झापाको कचनकवलबाट सुरु भएको अभियान मोरङ, सुनसरी हुँदै अघि बढ्ने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न अभियान थालिएको माओवादी केन्द्रले जनाएको छ । अभियानको शुभारम्भका लागि अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु झापा पुगेका थिए । अभियान आगामी चैत ७ गते कञ्चनपुर पुगेर समापन गर्ने तयारी माओवादीले गरेको छ ।
प्रवक्ता सापकोटाका अनुसार कोशी प्रदेशको झापा र मोरङमा सभा हुनेछ । मधेश प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सभा र अन्तरक्रिया गर्ने माओवादीले जनाएको छ । यस्तै, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सभा गर्ने भएको छ । बाग्मती प्रदेशको चितवन, गण्डकीको नवलपरासी पूर्व र सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सभा गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रले जनाएको छ ।