औरही घटनाः सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग

चैत्र १०, २०८१
राष्ट्रियसभाका सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । सभाको आजको बैठकमा सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरंगी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्नुभयो ।
दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको भन्दै उहाँले झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरिएको उहाँको भनाई थियो । सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञका नाममा दलितको घरमा डोजर लगाउनु आपराधिक कार्य भएको बताउँदै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । सांसद विश्वकर्माले पालिका अध्यक्षलाई तत्काल पदच्यूत गरेर बजरंगी बाबालाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।