वर्ल्ड भिजन नेपालको बार्षिक प्रतिवेदन सार्वजनिक

चैत्र १३, २०८१ | ललितपुर
नेपालमा कार्यरत अन्तराष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनले पछिल्लो बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०२४ मा स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, बाल संरक्षण र विपद् प्रतिकार्यका लागि विभिन्न परियोजना र कार्यक्रम सञ्चालन गरेको वर्ल्ड भिजन नेपालले एक बर्षको अवधिमा भएका कामको प्रगति विवरणसहितको प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाका अनुसार, सन् २०२४ मा विभिन्न जिल्लामा गरी १० हजार ५ सय ९६ जना बालबालिकालाई कुपोषण हुनबाट जोगाउन सहयोग गरिएको छ ।
त्यस्तै, ६१ वटा स्वास्थ्य संस्थामा सुधारका लागि सहयोग गरेको सो संस्थाले २९ वटा नयाँ कक्षाकोठा निर्माण गर्नुका साथै ८ वटा विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गरेको छ । त्यस्तै, ४ सय ३८ विद्यालयमा आवश्यक सिकाइ सामग्री प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । संस्थाका अनुसार १० वटा स्थानीय तहमा बालमैत्री स्थानीय शासन घोषणाका लागि तोकिएका सूचकहरु पुरा गर्न सहयोग गरिएको छ ।
ललितपुरमा मंगलवार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार जाजरकोट र बझाङमा गएको भूकम्पपछि ४६ हजार ४ सय ५० जनालाई आपतकालीन सहायता प्रदान गरिएको थियो । त्यस्तै बालबालिकाको सिकाइलाई विपद्को बेलामा निरन्तरता दिन ३२ वटा अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको वल्र्ड भिजनले जनाएको छ । संस्थाकी राष्ट्रिय निर्देशक रोजलिनएच गेब्रियलले बालबालिकामाथिको जोखिम बढ्दै गएको अवस्थामा उनीहरु र समुदायहरूलाई सुरक्षित गर्न प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।
यसैबीच, वर्ल्ड भिजन नेपालले “नेपालमा बालबालिकामा अनलाइन सुरक्षाको अवस्था” तथा “किशोर किशोरीहरूमा लागूपदार्थको प्रयोगबारे उनीहरूको ज्ञान, धारणा र अभ्यास” सम्बन्धि अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।