कान्तिपुर मिडिया ग्रुपले भैरहवामा ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रम गर्दै

चैत्र १३, २०८१ | काठमाडौं

कान्तिपुर मिडिया ग्रुपको आयोजनामा रुपन्देहीको भैरहवामा आज ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रम हुँदैछ । लुम्बिनी प्रदेशको अर्थ, सामाजिक शक्ति, सम्भावना, समस्या र त्यसको सम्बोधनबारे विमर्स गर्न ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रम आयोजना गरिएको कान्तिपुर मिडिया ग्रुपले जनाएको छ । 

कार्यक्रमका मुख्य वक्ताका रुपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्छ । कार्यक्रममा विभिन्न चार सत्रमा सम्बन्धित क्षेत्रका विज्ञसँग बहस हुनेछ । पहिलो सत्रमा सुस्त पूर्वाधार र अस्थिर नीति, उत्पादनका चुनौती विषयमा अन्तरक्रिया हुनेछ । 

दोस्रो सत्रमा उपमहानगरको उन्नति, तेस्रो सत्रमा लुम्बिनीको आह्वान, अन्तर्राष्ट्रिय उडान र चौथो सत्रमा अलमलमा अर्थनीति र राजनीति शीर्षकमा अन्तरक्रिया हुनेछ ।

प्रदेशका १२ वटै जिल्लाका आ आफ्नै विशेषता छन् । मैदानी क्षेत्रका ६ जिल्ला कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र रोजगारीमा अगाडि छन् भने बाँकी जिल्ला कृषि र पर्यटनको बलियो पृष्ठभूमि बोकेका छन् । 

आजको कार्यक्रममा यी क्षेत्रका सम्भावना र समस्या सम्बोधनका उपायबारे सरोकारवालासँग बृहत छलफल गरिने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ । कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ । ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।


प्रतिक्रिया