एपीएफको फाइनल पुग्ने सम्भावना कायमै

चैत्र १३, २०८१ | काठमाडौं

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आफ्नो फाइनल सम्भावना जीवित राखेको छ ।

आज भएको खेलमा एपिएफले अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै फाइनल सम्भावना जीवित राखेको हो ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको एपिएफले लिग चरणका सबै खेल्दा १४ अंक जोडेको छ । एक खेल कम खेल्दै दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ । रनरेटमा आर्मी अघि छ ।

अन्तिम खेलअघि १६ अंक जोड्दै शीर्ष स्थानको नेपाल पुलिस क्लब भने फाइनलमा पुगिसकेको छ । अब पुलिस र आर्मीबीच भोलि लिगको अन्तिम खेलपछि फाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । 

आर्मी फराकिलो अन्तरले पराजित भएमा एपिएफको सम्भावना हुनेछ । यद्यपी आर्मी झिनो अन्तरको हारले पनि फाइनलमा पुग्ने सम्भावना छ ।

भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा कोशीले दिएको २ सय ५५ रनको लक्ष्य एपीएफले ४४ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । उसका लागि लोकेश बमले सर्वाधिक ८४ रन जोडे । 

त्यसअघि पहिले ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा अलआउट हुँदै २ सय ५४ रन जोडेको थियो । कोशीले ९ खेलबाट २ अंक मात्र जोडेर पुछारमा रहँदै पिएम कपको अन्त्य गरेको छ ।


प्रतिक्रिया