घिसिङलाई हटाएको बिषयमा संसदलाई जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली

चैत्र १३, २०८१
प्रधानमन्त्री केपी ओलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट घिसिङलाई हटाएको बिषयमा संसदलाई जवाफ दिन आवश्यक नभएको बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कर्मचारी नियुक्तिको बिषयमा संसद अवरुद्ध गरिएको भन्दै आपत्ति जनाउनुभयो ।
घिसिङले पदमा रहँदा अनुशासन विपरित काम गरेको प्रधानमन्त्री ओलीको टिप्पणी थियो । विपक्षी दलले संसदबाट कानून बन्न नदिन बहाना मात्र खोजेको उहाँले उल्लेख गर्नुभयो ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालिन न्यायसम्वन्धि प्रक्रियाबारे भएको सहमतिलाई विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाइएको बिषयसँग जोडेर गलत प्रचार भएको बताउनुभएको छ । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले त्यस्तो प्रचार गरेर आफूमाथि जालझेल गरिएको समेत बताउनुभयो ।
गत सोमवार प्रमुख तीन दलबीच संक्रमणकालिन न्यायसम्वन्धि आयोगका पदाधिकारी सिफारिस गर्न समिति बनाउने सहमति भएलगत्तै बसेको मन्त्रीपरिषद् बैठकले कुलमान घिसिङलाई हटाउने निर्णय गरेको थियो । त्यसपछि दाहालले संक्रमणकालिन न्यायको मुद्धाका लागि घिसिङलाई हटाउन सत्तारुढ दललाई साथ दिएको आरोप लागेको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालले भने तीन दलको बैठकमा घिसिङबारे कुनै छलफल नभएको बताउनुभयो ।
यसैबीच, कुलमान घिसिङका समर्थकले आज पनि काठमाडौंको रत्नपार्कस्थित विद्युत प्राधिकरणको कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।