सञ्चारगृहमा राजावादी समूहको आक्रमण निन्दनीय छः गृहमन्त्री लेखक

चैत्र १६, २०८१ | काठमाडौं
गृहमन्त्री रमेश लेखकले कान्तिपुर लगायत सञ्चार गृहमा राजावादी समूहले गरेको आक्रमण निन्दनीय रहेको बताउनुभएको छ । कान्तिपुर टेलिभीजनको कार्यालयमा पुगेर मन्त्री लेखकले राजावादीले सञ्चार माध्यममा आक्रमण गरेर आफ्नो मूल चरित्र देखाएको बताउनुभयो । ज्ञानेन्द्र शाहले ‘कू’ गर्दा पनि कान्तिपुरमाथि आक्रमण गरेको र हिजो शाहको समर्थनमा भएको प्रदर्शनले पनि कान्तिपुरमाथि आक्रमण गरेको गृहमन्त्री लेखकको भनाई थियो ।
राजावादीले हिजो तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा कान्तिपुर लगायत सञ्चार गृहमा ढुंगा प्रहार गरेका थिए । अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनीको प्रयास भएको थियो । गृहमन्त्री लेखकले सञ्चारगृह र सञ्चारकर्मीलाई आफ्नो काम निर्वाध गर्नका लागि सुरक्षा व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।
गृहमन्त्री लेखकले राजावादी समूहले गरेको कार्य आपराधिक भएको बताउनुभयो । तीनकुनेमा पत्रकार सुरेश रजक घरभित्र रहेको बेला राजावादीले आगो लगाएको घटनाको गृहमन्त्री लेखकले निन्दा गर्नुभएको छ । शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर अनुमति लिएर अराजकता मच्चाएको उहाँको भनाइ छ ।
घटनामा संलग्न सबैमाथि अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही हुने गृहमन्त्री लेखकले प्रतिवद्धता जनाउनुभयो । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंले प्रहरीलाई कुल्चिनका लागि गाडी चलाएको पनि गृहमन्त्रीको भनाइ थियो । उनी हाल फरार रहेको, खोजी कार्य भइरहेको र छिट्टै पक्राउ पर्ने मन्त्री लेखकले बताउनुभयो ।
राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको स्थानमा गृहमन्त्रीको निरिक्षण
राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा गृहमन्त्री रमेश लेखकले अनुगमन गर्नुभएको छ ।
दुर्गा प्रसाईं र नवराज सुवेदी लगायतले नेतृत्व गरेको राजावादीको समूहले हिजो काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटी लगायत क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । सो क्षेत्रको अनुगमन गर्न गृहमन्त्री लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित मन्त्रालयका उच्चपदस्थ अधिकारीले घटनास्थलको निरीक्षण गर्नु भएको हो ।
राजावादीको आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।