पीएम कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

चैत्र १६, २०८१ | काठमाडौं
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट रंगशालामा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो ।
टस हारेर सुरुवाती ब्याटिङ गर्दै आर्मीले दिएको १ सय ५५ रनको सामान्य लक्ष्य पुलिस क्लबले २५ दशमलव २ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । कमजोर सुरुवात गरेको आर्मी क्लबले पहिलो १० ओभरमा ५ विकेटगुमाउँदै २५ रन मात्र बनाएको थियो ।
आर्मीका लागि मध्यक्रममा मैदान प्रवेश गरेका बसिर अहमदले नट आउट ८६, विनोद भण्डारीले २९ र शाहब आलमले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आर्मीलाई सस्तैमा समेट्ने क्रममा करन केसी र सागर ढकालले समान ३–३, दिपेन्द्रसिंह ऐरिले २ तथा ललित राजवंशी र गुलशन झाले १–१ विकेट लिए ।
१ सय ५५ लक्ष्य पछ्याएको पुलिस क्लबका लागि कुशल भुर्तेलले ६१, अमित श्रेष्ठले ३९ तथा दिलिप नाथले ३१ रन बनाए । प्रधानमन्त्री कपमा यो सहित पुलिस क्लबले तीन पटक उपाधि जितेको छ भने, आर्मीले एक पटक मात्रै उपाधि हात पारेको छ ।