विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पदः माओवादी

चैत्र २५, २०८१
प्रतिपक्षी दल माओवादी केन्द्रले सरकार गठन भएको दस महिनासम्म समेत आन्दोलनरत शिक्षकहरुको जायज मागलाई बेवास्ता गरेको आरोप लगाएको छ । पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले अहिले शिक्षकहरुको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद रहेको टिप्पणी गर्नुभयो ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्ने लगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीले जनाएको छ । देशको सर्वांङ्गिण विकासमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षा क्षेत्रमा गुणात्मक सुधार आवश्यकता भएको र त्यसका लागि विद्यालयस्तरमा लामो समयदेखि कार्यरत शिक्षकहरूका लागि उत्प्रेणामुखी वातावरण सिर्जना गर्दै उनीहरूको पेसागत सुरक्षा अनिवार्य शर्त रहनुपर्ने माओवादीले बताएको छ । साथै, माओवादीले शिक्षकहरुको मागप्रति ऐक्यवद्धता व्यक्त गर्दै आम जनसमुदायमा समेत शिक्षकहरूको आन्दोलनका पक्षमा उभिने आह्वान गरेको छ ।