साउदीद्वारा भारतसहित १४ देशका नागरिकको भिसा प्रतिबन्ध

चैत्र २५, २०८१
साउदी अरबले भारत, पाकिस्तानसहित १४ देशका नागरिकहरुलाई भिसा प्रतिबन्ध लगाएको छ । आगामी हज यात्रालाई लक्षित गर्दै भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्नका लागि ती देशका नागरिकहरुलाई उमरा, व्यापारिक तथा पारिवारिक भ्रमणका लागि भिसा प्रदान गर्न अस्थायी रुपमा रोक लगाएको हो ।
भिसा प्रतिबन्धको सूचीमा भारत, बंगलादेश, पाकिस्तान, इजिप्टलगायतका मुलुकहरु परेका छन् । सो प्रतिबन्ध २०२५ को हज यात्रा सकिएर जुन महिनाको मध्यसम्म कायम रहने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्रतिबन्धित १४ देशहरुमा अल्जेरिया, बङ्गलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरोक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन रहेका छन् । साउदी सरकारको सो निर्णय हज अवधिभरको अत्यधिक भीड व्यवस्थापन तथा सुरक्षा उपायहरूलाई ध्यानमा राखेर लिइएको बताइएको छ ।