राजसंस्था पुनस्र्थापनाका लागि समितिले भद्र अवज्ञा आन्दोलन गर्ने

चैत्र २७, २०८१

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आगामी दिनमा भद्र अवज्ञा आन्दोलन गर्ने बताएको छ । गत चैत १५ गते काठमाडौंमा हिंसात्मक प्रदर्शन भएपछि आलोचना खेप्दै आएको समितिले अब भद्र अवज्ञा आन्दोलनको कार्यक्रम गर्ने भएको हो । काठमाडौंको धुम्वाराहीमा आयोजित प्रतिवद्धता सभामा बोल्दै समितिका संयोजक जगमान गुरूङले राजतन्त्र पुर्नस्थापनाको आन्दोलन नरोकिने बताउनुभयो ।

समितिमा पहिला संयोजक तोकिएका नवराज सुवेदीलाई सरकारले नजरबन्दमा राखेपछि गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ । प्रतिवद्धता सभामा बोल्दै संयोजक गुरुङले चैत १५ गतेको घटनापछि पक्राउ परेका नेताहरुलाई रिहाइ नगरिए वैशाख २२ बाट सामूहिक गिर्फतारी दिइने बताउनुभयो ।

प्रतिबद्धता सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानका प्रमुख केशरवहादुर विष्ट लगायत नेता सहभागी भएका थिए । राप्रपा नेपालका अध्यक्ष थापाले नयाँ ढंगमा आन्दोलन अघि बढाइने बताउनुभयो । चैत १५ गतेको घटनामा पूर्वराजालाई जोड्न खोजिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

राप्रपाका नेता डा. लोहनीले शान्तिपूर्ण आन्दोलन गर्ने पक्षमा आफुहरु रहेपनि राज्यको तर्फबाट दमन गर्न खोजिएको बताउनुभयो ।

राजसंस्था पुनस्र्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिका कमान्डर भनिएका दुर्गा प्रसाईं भने चैत १५ गतेदेखि फरार छन् । राप्रपाका नेताहरु धवलशमशेर राणा र रविन्द्र मिश्र लगायत नेताहरुलाई भने प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।  


प्रतिक्रिया