म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको टोली स्वदेश फिर्ता

चैत्र ३०, २०८१ | काठमाडौं

म्यानमारमा गएको विनाशकारी भूकम्पमा घाइते भएकाको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फर्किएको छ । नेपाली सेनाको १६ सदस्यीय टोली हिजो साँझ नेपाल फर्किएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

चैत २० गते १२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिम सहित कुल १६ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको थियो । सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिक सहित खटिएको थियो । 

सेनाको टोली म्यानमारको म्याण्डलेस्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेको उपचारमा खटिएको थियो । 

उपचारको क्रममा सेनाको टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीलाई ओपीडी सेवा प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया