शिक्षक महासंघको काठमाडौं केन्द्रीत आन्दोलन लम्बिदै

वैशाख ५, २०८२
विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने लगायत माग राख्दै नेपाल शिक्षक महासंघले गरेको आन्दोलन लम्बिदै गएको छ ।
सरकारको तर्फबाट वार्ताका लागि आव्हान भएपनि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो । काठमाडौंको वानेश्वर क्षेत्रमा शिक्षकहरुको आन्दोलन जारी रहँदा सवारी आवागमन प्रभावित भइरहेको छ भने सो क्षेत्रको व्यापार व्यवसायलाई समेत असर पारेको छ ।
विद्यालयको पठनपाठन नै प्रभावित पारेर काठमाण्डौंको सडकमा नाचगान, कविता वाचनदेखि गीत गाउने जस्ता रमाइलो क्रियाकलापमै शिक्षकहरुले दिन बिताउन थालेका छन् । गत चैत्र २० गतेदेखि प्रदर्शन चर्काएका शिक्षक तथा कर्मचारीले सरकारको ठोस सहमति नआइन्जेल सडक नछाड्ने बताउँदै आएका छन् ।
यसैबीच महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने सरकारबाट आफुहरुको समाधानका लागि सार्थक पहल नभएको आरोप लगाउनुभएको छ । रेडियो कान्तिपुरसँग बोल्दै उहाँले सरकारबाट पहल नभएको बताउनुभएको हो ।
यसैबीचराष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्ने गलत सूचना प्रवाह भएको बताएको छ । बोर्डले पूर्वनिर्धारित समयमै परीक्षा हुने जानकारी दिएको छ ।