बागमती प्रदेशका मुख्यमन्त्री लामालाई पदबाट हटाउने गृहकार्य शुरु

श्रावण ९, २०८२ | काठमाडौं
बागमती प्रदेशसभाका नेपाली कंग्रेसका सांसदहरुले मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट हटाउने गृहकार्य शुरु गरेका छन् । पार्टीको संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने तयारी भएको हो । लामालाई संसदीय दलको नेताबाट हटाउन सांसदहरूले हस्ताक्षर बुझाएका छन् ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सक्रियतामा संसदीय दलका ३७ जना सांसदमध्ये २१ जनाले हस्ताक्षर गरेको बताइएको छ । २१ सांसदको हस्ताक्षर संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई बुझाइएको हाम्रा सहकर्मीले जनाएका छन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत सांसदको हस्ताक्षर भए पुग्छ । तर, ५० प्रतिशतभन्दा बढी सांसदको हस्ताक्षर रहेका कारण अब संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अगाडि बढ्ने सांसद छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अबको बैठक सचिवले राख्न सक्ने विधानमा उल्लेख छ । यसअघि कांग्रेसबाट लामा नेतृत्वको सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् । लामालाई पदबाट हटाएर अर्का नेता बाँनियालाई मुख्यमन्त्री बनाउने रणनीतिमा कंग्रेसका सांसदहरु लागेका हुन् ।