जलवायु न्यायकालागि नेपाललाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक छः उपसभामुख राना

श्रावण ९, २०८२ | काठमाडौं
उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक भएको बताउनुभएको छ ।
चीनको हेनान प्रान्तमा आयोजित सांघाई सहयोग मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले जलवायु परिवर्तनमा योगदान नभएको हिमाली मुलुक नेपाल सबैभन्दा बढी प्रभावित भई त्यसको प्रत्यक्ष असर सामना गर्नुपरेको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण गराउनुभयो । अर्को प्रसंगमा उपसभामुख रानाले चीनलगायत छिमेकी मुलुकसँग पूर्वाधार निर्माण, व्यापारिक सम्बन्ध विस्तार र जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने दिशामा नेपालले सहकार्य गरिरहेको उल्लेख गर्नुभयो ।