चितवनमा हिजो भएको दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

असार ८, २०८२ | चितवन
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन भण्डारा नजिक हिजो बिहान बस र माइक्रोबस ठोक्किँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।
हिजो ६ जनाको नाम÷ठेगाना खुलेको थियो । बाँकी एक जनाको आज सनाखत भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । मृतकमध्ये पूर्णकुमारी खड्काको आज सनाखत भएको हो ।
खड्का लमजुङ बेसिसहर नगरपालिका–३ घर भई भरतपुर महानगरपालिका–६ गीतानगर चोकबजारमा बस्दै आएकी थिइन् । सो दुर्घटनामा थप २४ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, पाँच जना मध्यम र अरू सामान्य रहेको प्रहरीले जनाएको छ ।