झापामा डेढ दशकमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु

असार १३, २०८२
झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस अवधिमा अहिलेसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
पछिल्लो १५ वर्षको तथ्यांक हेर्दा औषतमा बर्सेनि ५ जनाको मृत्यु भएको देखिन्छ । फरेष्ट एक्सन नेपालका डा लिलानाथ शर्माले विद्युतीय तारवारले मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण नहुने जानकारी दिनु भयो । उहाँले तारबारले मात्र हात्तीलाई रोक्न नसकिने भन्दै वनमै सुधार गर्नु पर्नेमा जोड दिनुभयो । हात्तीको जैविकमार्ग निर्माण गरेर वनभित्र हात्तीमैत्री वातावरण निर्माण गर्नसके मावन–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।