मुख्यमन्त्री लामाको कांग्रेस संसदीय दलको नेताको हैसियत गुम्यो

श्रावण १३, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाउनुभएको छ । प्रदेश कांग्रेस संसदीय दलमा भएको मतविभाजनमा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाउनुभएको हो । लामाका पक्षमा १५ सांसदले मात्र मत दिएका छन् । त्यस्तै २२ सांसद विपक्षमा उभिएका छन् ।
बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसकै मन्त्रीहरूले राजीनामा समेत दिएका थिए । आज मात्र खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले सोमबार राजीनामा दिएका थिए । यसअघि ९ साउनमा प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई पदमुक्त गरिसक्नुभएको छ ।
उहाँले रिक्त चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरी अविश्वासको प्रस्ताव सामना गर्ने रणनीति तय गरेपनि सफल हुन सकेन । संसदीय दलको नेतामा पराजित भएसँगै लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढेको छ । बागमतीमा रहेका कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका हुन् ।
कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता मानिनुहुन्छ । यसैबीच, मुख्यमन्त्री लामाले संसदीय दलमा बहुमत गुमेपनि पदबाट राजिनामा नदिने बताउनुभएको छ । आफूविरुद्ध षड्यन्त्र भएको भन्दै संविधान अनुसार अघि बढ्ने र राजिनामा नदिने उहाँको भनाइ छ ।