समानुपातिक सूचीमा रहेका ३ जना उम्मेदवार विरुद्ध उजुरी
माघ ११, २०८२ | काठमाडौं
निर्वाचन आयोगमा विभिन्न राजनीतिक दलका समानुपातिक सूचीमा रहेका ३ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ प्रसाद भट्टराईले नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिराहाका चन्देश्वर मण्डलविरुद्ध उजुरी परेको जानकारी दिनुभयो ।
मण्डल आदिवासीतर्फको व्यक्ति भएकाले मधेशी क्लस्टरमा राख्न नमिल्ने भन्दै उहांविरुद्ध उजुरी परेको हो । यस्तै, नेपाली कम्युनिष्ट पार्टीको समानुपातिक सूचीमा रहेका ललितपुरका जीवन लामाविरुद्ध समेत उजुरी परेको सहसचिव भट्टराईले जानकारी दिनुभयो ।
लामालाई अपाङता भएको व्यक्ति अन्तर्गत राखिएको तर उहां अपाङता भएका व्यक्ति नभएको भन्दै उजुरीमा दावी गरिएको छ । उता, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट समानुपातिक सूचीमा रहेका उम्मेदवार कुमारबहादुर थापाविरुद्ध उजुरी परेको छ ।
उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रुपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको सहसचिव भट्टराईले जानकारी दिनुभयो । आयोगमा परेको उजुरीविरुद्ध आयागले अध्ययन सुरु गरेको जनाइएको छ ।










