आचारसंहिता उल्लंघन घटनाका सम्बन्धमा ९९ प्रतिशत उजुरी फस्र्योट
फाल्गुन १६, २०८२ | काठमाडौं
निर्वाचन आचारसंहिता उल्लंघन घटनाका सम्बन्धमा निर्वाचन आयोगको केन्द्र र जिल्लास्तरमा प्राप्त उजुरीमध्ये ९९ प्रतिशत उजुरी फस्र्योट भएको छ ।
आयोगका अनुसार आचारसंहिता लागु भएपछि जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको थियो ।
त्यसमध्ये एक हजार ६१ वटा अर्थात ९९ प्रतिशत फस्र्योट भएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।
आयोगका अनुसार प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २ सय ४४ वटा उजुरी परेका छन् ।
सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।
प्राप्त उजुरीमध्ये ९७ वटा लिखित र ९७९ वटा टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएको आयोगले जनाएको छ ।
आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा भने इमेल, व्यक्तिगत दर्ता तथा सञ्चार माध्यमबाट २५४ उजुरी लिइएको थियो ।
सोमध्ये ८८ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।
आयोगमा प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठुला तुल ब्यानर र झन्डा प्रयोग गरेको, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको लगायतका छन् ।








