रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
वैशाख ७, २०८३ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज केन्द्रीय समितिको बैठक बस्दै छ ।
बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ । बैठकका लागि रास्वपाले ९ बुँदे एजेन्डा तय गरेको छ ।
जसमा पार्टी गतिविधिको ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ तथा केन्द्रीय समिति पदाधिकारी मनोनयनका विषयमा छलफल हुने रास्वपा सचिवालयले जनाएको छ ।
त्यस्तै, महाधिवेशनको कार्यविधि मस्यौदा, विधान संशोधन, स्थानीय तह उमेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासी नेपालीलाई मताधिकारलगायत विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा सभापति रवि लामिछानेको निर्देशनमा सबै सदस्यलाई अनिवार्य उपस्थितिको सूचना समेत जारी गरिएको छ ।
यसैबीच, रास्वपा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । पार्टी स्थापनाको तीन वर्षमै प्रतिनिधि सभामा झन्डै दुईतिहाइ जित हासिल गरेको रास्वपा पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको हो ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । बैठकमा केन्द्रीय समिति सदस्यसमेतको उपस्थिति रहेको थियो ।











