लुम्बिनी प्रादेशिक अस्पताल वरिपरी बनाइएका सटर भत्काइने

कार्तिक १९, २०७६ | बुटवल

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल वरिपरी बनाइएका सटर भत्काइने भएको छ । सटरले अस्पतालको सौन्दर्य बिगारेको तथा त्यहाँ कार्यरत चिकित्सकहरुले क्लिनिक चलाउँदा उपचारमा हेलचेक्राइँ गरेको भन्दै  सटर भत्काउन लागिएको हो ।

आज बसेको प्रदेश ५ को मन्त्रिपरिषदको बैठकले अस्पतालका सटरहरु भत्काउन सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिएको छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले अस्पतालका सटर मंसिर मसान्तसम्म खाली नगरे डोजर चलाएर सटर भत्काउने निर्णय भएको बताउनुभयो । 

यस्तै, प्रदेश ५ सरकारले प्रदेशका १२ जिल्लामध्ये ६ जिल्लामा सामाजिक डिभिजन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयबाट सबै जिल्लाहरुको काम एकैसाथ गर्न गाह्रो भएको भन्दै प्रत्येक दुई जिल्लाका लागि एक सामाजिक विकास डिभिजन कार्यालय स्थापना गरिने निर्णय भएको हो ।

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्राइभेट फर्म दर्ता नियमावली २०७६ स्वीकृत गरेको मन्त्री चौधरीले जानकारी दिनुभयो । स्वीकृत नयाा नियमावली अनुसार ५ लाख सम्मको फर्म दर्ताका लागि एक हजार रुपैयाँ, ५ देखि २० लाख सम्मको फर्मका लागि ५ हजार तथा २० लाखदेखि ५० लाख सम्मको नयाँ फर्म दर्ता गर्न १५ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई नियुक्त गरेको छ ।


प्रतिक्रिया