सुरक्षाका कारण देखाउदै चीनले अचानक बन्द गरिदियो कोरला नाका

असार १६, २०७३ | मुस्ताङ

चीन र नेपाल बिच भएको सहमति अनुसार, २५ दिनका लागि खुलेको कोरला नाका चीनले एकतर्फी रुपमा १६ दिनमै बन्द गरिदिएको छ ।

सुरक्षाको कारण देखाएर किनमेलका लागि लागेको ब्यापारिक मेला आजदेखि पुर्ण रुपमा बन्द भएको छ । आजै सांझ ५ बजेदेखि सिमानाको मुलगेटमा चीन तर्फबाट ताला लाग्नेछ ।

असार १ गतेदेखि चीन तर्फको जमिनमा लागेको ब्यापारिक मेलाका लागि २५ दिनलाई सिमाना खुल्ला गर्ने सहमति भएको थियो । सो सहमतिको आधारमा गत बर्ष एक साता मात्र लागेको मेला अबधी बढाएर यसपाली २५ दिनलाई पुऱ्याइएको थियो ।

तर, दलाई लामाको तस्विरसहितका ब्यक्ति र भारतीय मुलका केहि मानिसको प्रबेशको कारण देखाएर चिनियाँ सुरक्षा अधिकारीले ९ दिन अगावै सिमाना बन्द गरिदिएको ब्यापारीहरुले जनाएका छन् ।

एक ब्यापारीले भने, ‘स्वतन्त्र तिब्बतका अभियन्ता दलाई लामाको जस्तो पोशाक लगाएका ब्यक्ति देख्ने बित्तिकै चिनियाँ सुरक्षाकर्मीले खेदिहाले, ब्यापार गर्न मात्र आउनेलाई उनीहरुले केहि भनेका थिएनन् ।’

सिमानाबाट ७ किलोमिटर चीन तर्फ समथर भू–भागमा मेला लागेको थियो । यहाँको ढुंग्वासेन बजार भन्दा केही वर लागेको मेलामा स्थानीयले १६ दिनसम्म आबश्यक सामान खरिद गरे ।

यहाँको चीन तर्फको सिमानामा खम्बा जातिको बसोबास छ । खम्बाहरुले अलग राज्यको माग गर्दै बिद्रोह गरेका कारण अझैं पनि चिनियाँ अधिकारीहरुले उनीहरुलाई एउटा राज्यबाट अर्कोमा जान अनुमति दिंदैनन् ।

खम्बालाई मेलामा किनमेल गर्न एक साताको अनुमति थियो, तर, खम्बाहरु मेलामा साता दिन भन्दा बढि लुकेर बसेको कारण देखाईयो, असुरक्षा महसुस भयो, जासुस भयो भन्ने कारण देखाएर सिमाना बन्द गरिदिएको एक स्थानीयले कान्तिपुरसंगको कुराकानीमा बताए ।

छिटै सिमाना बन्द भएपछि ब्यापारिक कारोवार खासै भएन । कुनै जानकारी नै नदिई चीनले सिमाना बन्द गरिदिएको लोमान्थाङका गाबिस सचिब ज्ञानेन्द्र बिष्टले बताउनुभयो ।  किनमेलमा स्थानीयको उत्साह भएपनि ठुलो कारोवार हुन सकेन ।

नेपाल तर्फको सडक खराब भएको हुंदा ठुला ब्यापारीहरु कोरला आउन नसकेको भंसार कार्यालयले जनाएको छ । चिनियाँ सुरक्षा अधिकारीले सुरक्षामा कडाई गर्न थालेपछि एक साता मात्र किनमेल हुन पायो । त्यसपछि हरेक ब्यक्तिलाई चीनका प्रहरीले खानतलासी गर्न थालेपछि नेपालबाट जानेको संख्यामा निकै कम भयो ।

सुरक्षा जाँचमा कडाई भएपछि किनमेलमा कमी आएको थियो । चीनले यो नाकालाई सुरक्षा संबेदनशिल नाका घोषणा गरेर ३ महिनादेखि चिनियाँ सशस्त्र प्रहरी फोर्स तैनाथ गरेको छ । तर, नेपाल तर्फ सिमानामा कुनै सुरक्षाकर्मीको उपस्थिती छैन ।

 


प्रतिक्रिया