शहरी क्षेत्रको जनसंख्या वृद्धि

आश्विन ३१, २०७९

विश्वभर शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्यामा वृद्धि भएको छ । संयुक्त राष्ट्र संघीय मानव बसोवास कार्यक्रम यूएन ह्याविट्याटले प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ का अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ । ती देशमा कुल जनसंख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्ने गरेको पाइएको छ । यही अवस्था रहे विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसंख्या शून्य दशमलव ४० प्रतिशत पुग्ने जनाइएको छ ।

यसैबीच, नेपालमा पनि शहरी क्षेत्रको जनसंख्या बढेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसंख्या २०६८ को जनगणनाको तुलनामा बढेर ६६ दशमलव ०८ प्रतिशत पुगेको हो । २०६८ सालमा शहरी क्षेत्रको जनसंख्या ६३ दशमलव १९ प्रतिशत थियो । 

यसैबीच, नेपालमा आज विश्व बसोवास दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालमा सन् २००१ देखि यो दिवस मनाउन थालिएको हो । समावेशी शहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता भन्ने नारासहित आज विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । विगतमा यो दिवस अक्टोबर महिनाको पहिलो सोमबार मनाइने गरेको भएपनि सो दिन नेपालमा बडा दशैँको महाअष्टमी परेकाले आज तेस्रो सोमबार मनाउन लागिएको हो । शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालका अनुसार दिवसका अवसरमा आज कार्यशाला गोष्ठी आयोजना गरिएको छ । कार्यक्रममा व्यवस्थित शहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया